

माडी नगरपालिकाले नक्सा पास गरेर मात्रै घर तथा अन्य संरचना बनाउन सार्वजनिक अनुरोध गरेको छ ।

नगरपालिकाले एक सुचना प्रकाशित गर्दै व्यवसायिक तथा आवासीय भवन, घर तथा अन्य संरचना बनाउँदा नेपाल सरकारद्वारा लागु गरिएको भवन निर्माण संहिता बमोजिम भुकम्प प्रतिरोधी हुने नक्सा पास गरेर मात्र बनाउन सुचना गरेको हो ।

नगरपालिका स्थापना भएदेखि नै नक्सा पासको प्रावधान लागु रहेपनि कतिपय घरहरु नक्सा पास नगराई निर्माण गरेको पाइएको उल्लेख गर्दै सुचनामा ‘अब आइन्दा नक्सा पास नगरी घर निर्माण गरेको पाइए कानुन बमोजिम कारवाही हुने’ जनाइएको छ ।

नक्सा पास, भवन निर्माण इजाजत र निर्माण सम्पन्न भएको प्रतिवेदन बिना आउँदा दिनमा विध्युत मिटर जडान, खानेपानी जडान तथा बैंकिङ कर्जा लगायतको काममा पनि समस्या हुने भएकाले नक्सा पासको प्रमाणपत्र लिएर मात्र घर निर्माण शुरु गर्न नगरपालिकाले अनुरोध गरेको हो ।