माडी, चितवन । सोमेश्वरगढीलाई विश्वभर चिनाउने प्रयासमा माडीमा ‘सोमेश्वरगढी विशेष ईन्द्रेणी साँस्कृति कार्यक्रम’ आयोजना भएको छ ।
सोमेश्वर क्षेत्र व्यवस्थापन समितिको आयोजनामा आउँदो बैशाख ३० गते शनिवार मध्यान्ह १२ बजेदेखि माडी-३, बघौंडास्थित कभर्ड हलमा भव्य समारोह सहितको ईन्द्रेणी साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको हो ।
कार्यक्रममा करीब ३ हजार दर्शकहरुको सहभागिता रहने आँकलन रहेको समितिले जनाएको छ । कार्यक्रममा चर्चित टेलिभिजनकर्मी कृष्ण कँडेल सहित ईन्द्रेणी समुहको प्रस्तुति रहनेछ ।
सोमेश्वरसंगै माडीका अन्य पर्यटकीय तथा धार्मिक स्थल समेतको प्रचारको उद्देश्य रहेको सो कार्यक्रममा सहयोग स्वरुप प्रवेश टिकट शुल्क रु. २०० रहेको छ ।
कार्यक्रमको पूर्वसन्ध्यामा ईन्द्रेणी समुह सोमेश्वर क्षेत्र पुगी भिडियो छायाँकन गर्ने र सोमेश्वरगढी विशेष भिडियो कार्यक्रम तयार पार्ने आयोजक समितिका अध्यक्ष पिताम्बर पोखरेलले बताउनुभयो ।
माडी नगरपालिकाको प्रवर्द्धन र विभिन्न संघसंस्थाहरूको सहयोगमा सञ्चालन हुने सो कार्यक्रमको आधिकारिक मिडिया स्वदेश एफ.एम. रहेको छ ।