माडी, चितवन । विश्वभर तहल्का पिटिरहेको ‘च्याटजिपिटी’लाई टक्कर दिनेगरी माडीका एक किशोरले ‘गफजीपीटी’ नामको च्याटबोट तयार गरेका छन् ।
आर्टिफिसियल इन्टेलीजेन्स (एआई) ‘ChatGPT’ले विश्वभर आम प्रयोगकर्ताको ध्यान तानिरहेको अवस्थामा माडी-१, बनकट्टा निवासी, हाल काठमाडौंमा अध्ययनरत १५ वर्षीय किशोर दीक्षान्त पाण्डेले ‘GuffGPT’ च्याटबोट निर्माण गर्नुभएको हो ।
सूचना प्रविधिमा निकै रुचि राख्ने पाण्डेले गत चैत्रमा एसईई दिएर बसिरहँदा ए.आई.को अध्ययन गरी सो च्याटबोट तयार गर्नुभएको हो । अहिले परीक्षणकै चरणमा रहेको गफजीपीटीलाई विश्वसनीय र सान्दर्भिक बनाउन मेहनत गरिरेको उहाँले बताउनुभयो ।
उमेरले सानै भए पनि सूचना प्रविधिको क्षेत्रमा राम्रो ज्ञान आर्जन गर्नुभएका दिक्षान्तले विभिन्न राष्ट्रिय अवार्डहरु पाउनुभएको छ । उहाँले गतवर्ष नेपालको प्राविधिक क्षेत्रको सबैभन्दा ठूलो आईसीटी अवार्ड २०२२ अन्तर्गत ‘ज्युरी मेन्सन आईसीटी अवार्ड २०२२’ को उपाधि समेत जित्न सफल हुनुभएको थियो ।