

बागमती प्रदेश सरकारले माडीका विभिन्न खोलामा पुल निर्माणका लागि २ करोड बढी रुपैंया बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले माडी-८ र ९ वडा जोड्ने कान्तिपुर सागबारीमा पुल (मल्टिसेल बक्स कल्भर्ट) निर्माणका लागि ७० लाख रुपैंया विनियोजन गरेको हो । त्यसैगरी, माडी-४ घोसरीमा चितई खोलामा मल्टीसेल बक्स कल्भर्टकै लागि ७० लाख रुपैंया बजेट परेको छ ।

यसैगरी, माडी-९ जेठी बगहीँ खोलामा पुल (मल्टिसेल बक्स कल्भर्ट)का लागि ४० लाख र माडी-९ कै टम्टा खोलामा खरिकुना जाने स्थानका लागि ३० लाख रुपैंया बजेट विनियोजन भएको बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले बताउनुभयो ।

यसबाहेक भरतपुर-२३ र २४ जोड्ने केरुङ्गा खोलामा पुल निर्माणका लागि ४ करोड रुपैंया तथा भरतपुर-२२ र २३ जोड्ने सीताखोलामा मल्टिसेल बक्स कल्भर्ट निर्माणका लागि ७० लाख रुपैंया समेत विनियोजन रहेको उहाँले बताउनुभयो ।