देव नारायण शाह
२३ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबल राख्न पुरक वातावरणीय प्रभाव मुल्यांकन प्रक्रिया अन्तरगत सुझाव संकलनका लागि माडीमा सार्वजनिक सुनुवाई सञ्चालन भएको छ ।
नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले माडीको बरुवास्थित पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको कार्यालय प्राङ्गणमा सरोकारवाला व्यक्तिहरुसंग सो सुनुवाई सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले माडीका लागि ई.आई.ए. हुुँदैमा खुसी हुनुपर्ने अवस्था नरहेको भन्दै हनुमानझुलामा विध्युतिकरण रोकिएकोप्रति चासो व्यक्त गर्नुभयो ।
निकुञ्जसंग जोडिएका माडीका ग्रामीण बस्तीहरुमा उज्यालोका लागि निकुञ्ज प्रशासनले निःशुल्क बत्ती जोड्नुपर्ने बताउँदै नगरप्रमुख महतोले निकुञ्ज प्रशासनले जनावरबाट मृत्यु भएमा १० लाख रुपैंया दिंदैगर्दा जनावरहरु बस्तीमा छिर्नै नदिने प्रयासमा उज्यालो बत्ती बाल्न लगानी गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, प्राधिकरणको चनौली वितरण केन्द्रका प्रमुख ई. शिशिर लम्सालले चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइने नयाँ भूमिगत प्रशारण लाइनले माडीको बिजुली सम्बन्धी समस्याहरु हल हुने बताउनुभयो ।
माडीमा बिजुली बिस्तारका लागि प्राधिकरणले अरबौं लगानी गरिसकेको बताउँदै उहाँले नयाँ परियोजनाबाट बहुआयामिक फाइदा हुने औंल्याउनुभयो । यो योजनाबाट निकुञ्जभित्र वातावारणीय पक्षमा तत्कालका लागि केहि असर परेपनि त्यो न्यूनिकरण गर्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।
सुनुवाई कार्यक्रममा प्राधिकरणको केन्द्र र प्रादेशिक कार्यालयसहरुबाट उच्च अधिकारीहरुको सहभागिता रहनुका साथै माडीका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरु एवं अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । सोही प्रकृतिको सुनुवाई कार्यक्रम बिहीबार जगतपुरस्थित केरुङ्गा उपभोक्ता समितिको कार्यालय परिसरमा समेत सञ्चालन भएको थियो ।