चितवन । माडीको सुदूर-पश्चिमी क्षेत्र बाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ ।
चर्चित ऐतिहासिक धार्मिक तीर्थस्थल रहेको सो स्थलमा माडी नगरपालिका-१ र नवलपरासी सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिकाले विनियोजन गरेको ५/५ लाख रूपैंयाको लागतमा खानेपानी र शौचालयकोे व्यवस्था गरिएको हो ।
आर्थिक वर्ष २०७९/८० को कार्यक्रम मार्फत आश्रममा सात ठाँउमा खानेपानी र र महिला पुरुषका लागि छुट्टछुट्टै शौचालय निर्माण गरिएको माडी-१ का वडाध्यक्ष अमितकुमार लामाले बताउनुभयो । यसअघि त्यहाँ चापाकलको पानी खानुपर्ने बाध्यता रहेको थियो ।
वाल्मीकि आश्रम क्षेत्रमा बाह्र घरपरिवार बस्दै आएका छन् भने मन्दिरका पुजारीका परिवार, जनपथ प्रहरी, सशस्त्र प्रहरी र चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका कर्मचारी बस्दै आएका छन् । त्यस्तै, दैनिक सयौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
बाल्मीकि आश्रम नेपालकै महत्वपूणर् ऐतिहासिक तथा धार्मिक तीर्थस्थल रहेकाले वडाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर काम गरिरहेको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँले सडक र बिजुली बत्तीको व्यवस्थापनको काम बाँकी रहेको भन्दै यस आर्थिक बर्षमा सो काम पनि गरिने बताउनुभयो ।