माडीमा विद्यालय हाताको १०० मिटर दुरीभित्र सुर्तीजन्य र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

215
SwadeshPost

चितवन । माडी नगरपालिकाले विद्यालय हाताको १०० मिटर दुरीभित्र सुर्तीजन्य र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र हुनेगरी विद्यालय हाताको १०० मिटर दुरीभित्र सुर्तीजन्य र मदिराजन्य सामग्रीहरु बेचबिखन र ओसारपोसार गर्न नदिन स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसअघि, विद्यालय वरपर मदिरा र सुर्तीजन्य पदार्थहरुको बिक्रीवितरण हुने र यसबाट समाजमा नकारात्मक असर परिरहेको भन्दै माडी नगरपालिकाका सबैजसो सार्वजनिक सुनुवाईहरु एवं सामाजिक सञ्जालहरुमा जनस्तरबाट आवाज उठ्दै आएको थियो ।

हाल १८ वर्षभन्दा मुनिका बालबालिकालाई सुर्तीजन्य र मदिराजन्य पदार्थ बेच्न नपाइने तथा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारवाही हुने कानुनी व्यवस्था रहेको छ । विद्यार्थीहरुलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि देशका केहि पालिकाहरुमा कडाइपूर्वक कार्यान्वयनमा भइरहँदा माडी नगरपालिकाले समेत सो निर्णय लिएको हो ।

SwadeshPost