चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने

231
SwadeshPost

चितवन । चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ ।

भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तर्गत भरतपुर महानगरपालिका-२३ स्थित ध्रुबघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण हुने भएको हो । वि.सं. २०१४ सालदेखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य बिक्रम पाण्डेले जनाउनुभयो ।

सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागले सर्भेको काम पुरा गरी हाल पुल डिजाइन गरिरहेको उहाँले बताउनुभयो । नयाँ पुल निर्माण भएपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षासँगै वन्यजन्तुलाई असर नहुने उहाँको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुबघाटमा पुल निर्माणका लागि वन मन्त्रालयले २०७९ असोजमै स्वीकृति दिइसकेको जानकारी दिनुभयो ।

त्यस्तै, भरतपुर २३ का वडाध्यक्ष दीपक दबाडीले ठोरीबाट रसुवासम्म नुन बोकेर जाने सो बाटो अन्तरगत ध्रुबघाटमा पुल निर्माण भएसँगै भरतपुर माडी यात्राका लागि सहज हुने बताउनुभयो ।

विगतमा ध्रुबघाटमा डुंगा तरेर राप्ती नदी वारपार गर्नुपर्ने अवस्था रहेको थियो । ध्रुबघाटमा पुल निर्माण भए निकुञ्जभित्र सडकको दुरी हालको भन्दा ३.९ किलोमिटर छोटो भई करीब ५ किलोमिटर मात्रै रहनेछ ।

— — —
#स्वदेश न्युज डेस्क
२०८० भदाै ०६ गते बुधबार दिउँसो १२:२७ मा अध्यावधिक

SwadeshPost