माडीमा वन तथा वन्यजन्तुको संरक्षण, आयआर्जन र मानव वन्यजन्तु द्वन्द न्यूनिकरण विशेष परियोजना सुरू

208
SwadeshPost

चितवन । माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले वन तथा वन्यजन्तुको संरक्षण, समुदायको आयआर्जन र मानव वन्यजन्तु द्वन्द न्यूनिकरण सम्बन्धी विशेष परियोजना सुरु गरेको छ ।

चालू आ.व. २०८०/८१ अन्तरगत तराई भू-परिधि कार्यक्रमको सहयोगमा सो विशेष परियोजना सुरु गरिएको समितिका अध्यक्ष शिवजी गायकले जनाउनुभयो । सो कार्यक्रम कार्यान्वयनका बारेमा समितिले गत साता एक कार्यक्रम आयोजना गरी स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुलाई जानकारी गराएको हो ।

परियोजना अन्तरगत मानव वन्यजन्तु असमझदारी रोकथामका सुरक्षित उपाय अवलम्बनका लागि बाख्राको सुरक्षित खोर निर्माण; मानव बन्यजन्तु समझदारी अभिवृद्धिका लागि चेतना अभिवृद्धि कार्यक्रम; दीगो वन, श्रोत व्यवस्थापन र उपभोक्ताहरुको क्षमता अभिवृद्धि कार्यक्रम; प्रभावित क्षेत्रका घरधुरीहरुलाई जीविकोपार्जन कार्यक्रम एवं मानव वन्यजन्तु सह-अस्तित्वका लागि अक्षयकोष स्थापना लगायतका कार्यक्रमहरु रहेको तराई भू-परिधि कार्यक्रमका प्रतिनिधि युवराज घतानेले जनाउनुभयो ।

समितिका अध्यक्ष शिवजी गायकको सभापतित्वमा कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजी महतो, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा मगर, राष्ट्रिय निकुञ्जको खड्ग दलको गणपति विकास अधिकारी, माडी बगहीँ सेक्टर संयोजक नारायणदत्त सापकोटा, माडी नगरपालिका वडा नं ८का वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारी, ९ का वडाध्यक्ष घनश्याम दवाडी, नेपाल रेडक्रस सोसाइटी अयोध्यापु्री उपशाखाका अध्यक्ष कृष्ण रानाभाट, आदिवासी जनजाती महासंघ माडी नगरका उपाध्यक्ष श्याम दुरा, पूर्व जनप्रतिनिधी नारदमणि पौडेल, प्रेम आचार्य, हरिप्रसाद भण्डारी लगायतले परियोजनाको सफलता शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक वन, चोरी शिकार नियन्त्रण युवा जागरण, आदिवासी जनजाती महासंघ, बुद्धिजीवि, समाजसेवी, होमस्टे संचालक र स्थानीय समुदायको उपस्थिति रहेको थियो ।

SwadeshPost