८ असार, माडी । अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो स्पर्धामा सहभागिताका लागि मलेसिया जान छनौट भएका माडीका एक खेलाडीलाई आर्थिक बिपन्नताकै कारण समस्या परेको छ ।
माडी नगरपालिका-७ निवासी (हाल भरतपुर १० मा बस्दै आएका) खेलाडी दर्शन बराल अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो स्पर्धाका लागि लाइफलाईन तेक्वान्दो दोजाङमार्फत मलेसिया जान छनौट भएपनि आर्थिक कारण सहभागी हुन समस्या रहेको बताउनुभयो ।
कक्षा ९ मा पढ्दै गर्दा भारतको गोवामा भएको अन्तर्राष्ट्रिय स्तरकै तेक्वान्दोमा काश्य पदक जितेका उहाँलाई यसपटक स्वणर्पदकको अपेक्षा रहेको छ । खेलमा सहभागी हुन आफ्नै नीजि खर्च रु. १ लाख ५० हजार लाग्ने अवस्था छ ।
चित्रकलामा समेत रुचि राख्ने १७ बर्षीय खेलाडी बरालले विभिन्न जनावर, सामाजिक अभियन्ता एवं नेताहरुको चित्र कोर्ने गर्नुभएको छ । खेल र चित्रकलामा क्षमतावान हुँदाहुँदै पनि आर्थिक अभावले थुप्रै अवसरहरु गुमेको बताउँदै उहाँले स्थानीय तथा सरकारी निकाय एवं विभिन्न सामाजिक संघसंस्थालाई सहयोगको अनुरोध गर्नुभयो ।