माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (बिप्लव सी) ले माडीको खैरहनी गाउँस्थित नेकपाको केन्द्रीय उत्पादन इकाईको जमीनमा धान रोप्नुभएको छ ।
नेकपा सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’द्वारा माडी-४, खैरहनीस्थित उत्पादन ईकाइमा आयोजित धान दिवस तथा रोपाईं महोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी रहँदै महासचिव बिप्लवले धान रोप्नुभएको हो ।
कार्यक्रममा बोल्दै महासचिव बिप्लवले ‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ सामुहिक जीवनशैली अपनाउँदै देशैभर सामूहिक उत्पादन केन्द्रहरु सञ्चालन गरिएको’ बताउनुभयो ।
‘राष्ट्रिय स्वाधीनता सहित बैज्ञानिक समाजवादी राज्यव्यवस्थाका लागि नेता कार्यकर्ताहरू पनि आत्मनिर्भर हुनु जरूरी रहेकोमा जोड दिँदै’ महासचिव बिप्लवले ‘केन्द्रीय उत्पादन इकाइको रोपाईंमा दलको दायराबाट माथि उठेर खुला मनसहित सहभागी सबैमा धन्यवाद’ समेत व्यक्त गर्नुभयो ।
धान रोपाईं कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य सन्देश पौडेल (सी) र अन्य केन्द्रीय नेताहरु एवं माडीका जनप्रतिनिधि, राजनैतिक सामाजिक अगुवा र स्थानीयबासीहरु समेत सहभागी रहेका थिए ।
हाल नेकपाले कपिलबस्तुको शिवराज नगरपालिकामा मुख्य कार्यालय रहनेगरी बैधानिक रुपमा जनश्रम कृषि सहकारी दर्ता गरी माडीसहित देशका विभिन्न स्थानमा कृषिजन्य उत्पादन ईकाइहरु सञ्चालन गरिरहेको छ ।