

चितवन । माडी नगरपालिकाको १३औं नगरसभाको दोश्रो बैठकले नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन, २०८१ पारित गरेको छ ।

बैठकले नगर कार्यपालिका, वडा एवं मातहतका कार्यालयहरुमा आवश्यक कर्मचारीको सोपान (पद, संख्या र जिम्मेवारी)को पूर्ण विवरण सहितको संगठन र व्यवस्थापन प्रतिवेदन पारित गरेको हो । प्रतिवेदन पारित भएसंगै नगरलाई करार कर्मचारी व्यवस्थापनमा सहजता हुनेछ ।

यसैगरी, बैठकले नगरपालिकामा कार्यरत कर्मचारीको सेवा सुविधा सम्बन्धमा नगरप्रमुख ताराकुमारी काजी महतोको संयोजकत्वमा गठित ९ सदस्यीय कार्यदलको प्रतिवेदन समेत पारित गरेको छ । सो प्रतिवेदनले नगरका कर्मचारीहरुले खाइपाइ आएको प्रोत्साहन भत्ता र इन्धन लगायतका अतिरिक्त सेवा सुबिधामा मितव्ययिता अपनाएको नगरप्रमुख महतोले जनाउनुभयो ।

बैठकले भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोमा परी ज्यान गुमाउने तथा सिमलताल पहिरोमा परेको बसमा सवार ज्यान गुमाउने माडी नगरपालिका वडा नं. १ निवासी विकास परियार लगायत मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण तथा घाईतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको थियो ।
गत असार ९ गते सम्पन्न १३औं नगरसभाको पहिलो बैठकबाट आगामी अर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम, बजेट र न्यायीक समितिको प्रतिबेदन यसअघि नै पारित गरिसकेको छ । नगरसभाले नयाँ आ.ब.का लागि ९९ करोड ६० लाख ३५ हजार रुपैंयाको बजेट पारित गरेको थियो । नयाँ अर्थिक बर्ष भोलि (मंगलबार)बाट सुरू हुँदैछ ।