१२ श्रावण, चितवन । भारतको दिल्ली, सिवान, ऋषिकेश लगायतका स्थानका धार्मिक योगीहरू र पीठाधीश सहित वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले माडीको चर्चित धार्मिक पर्यटनस्थल अयोध्याधाम अवलोकन दर्शन गर्नुभएको छ ।
अयोध्याधाम दर्शनका लागि शनिवार दिउँसो माडी आउनुभएका भारतीय धार्मिक योगीहरुसहित मेयर सिंहको टोलीलाई माडी नगरप्रमुख ताराकुमारी काजी महतो, अयोध्याधाम पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी, अयोध्याधामका अभियन्ता एवं पूर्व वडाध्यक्षद्वय शिवहरि सुवेदी र कृष्णराज अधिकारी, अयोध्या अभियन्ता एवं शिक्षक रामप्रसाद भण्डारी लगायत स्थानीयबासीहरुले स्वागत गर्नुभएको थियो ।
त्यसक्रममा योगीहरु सहित मेयर सिंहले रामन्दिरमा पूजा अर्चना समेत गर्नुभएको थियो । पूजालगत्तै सञ्चालित संक्षिप्त कार्यक्रममा बोल्दै मेयर सिंहले धार्मिक नगरका रुपमा विकास गरिरहिएको बीरगंजलाई अर्को धार्मिक शहर माडी र यहाँका धार्मिक स्थलहरुसंग जोड्न माडी आएको बताउनुभयो ।