चितवन । बाघको आक्रमणबाट घाइते भएकाहरुलाई उपचार प्रोत्साहन खर्च वितरण गरी माडीमा विश्व बाघ दिवस मनाइएको छ ।
रेवा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा, समितिको सभाहलमा सो समितिको सेवा क्षेत्रमा रहेका बाघको आक्रमणबाट विगतमा घाइते भएकाहरुलाई उपचार प्रोत्साहन रकम वितरण गरिएको हो । समितिले बाघको आक्रमणबाट घाइते भएकाहरुलाई बार्षिक रुपमा बाघ दिवसका दिन राहत एवं प्रोत्साहन रकम प्रदान गर्दै आएको छ ।
यसबर्ष “मानव बाघ सहअस्तित्व र समृद्धि” नाराकासाथ विश्व बाघ दिवस मनाइएको हो । नेपालमा बाघ माडीको सामुदायिक वन क्षेत्रसहित चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज लगायत पाँचवटा निकुञ्ज, मध्यवर्ती क्षेत्र, जैविक मार्ग र वन क्षेत्रहरुमा पाइन्छ ।
नेपाल लगायत एसियाका १३ वटा देशहरुमा पाइने बाघ आई.यु.सि.एन.को संकट्टापन्न वर्गमा पर्छ । विश्वमा बाघको संख्या घट्दै गइरहेको र प्राकृतिक बासस्थानको विनास एवं ह्रास हुँदै गइरहेको अवस्थामा पृथ्वीबाट लोप हुने खतरालाई दृष्टिगत गरी सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा बाघ प्रजातिको पहिलो शिखर सम्मेलन आयोजना गरिएको थियो ।
उक्त सम्मेलनबाट मुख्यतः बाघ पाइने राष्ट्रहरुले सामूहिक रुपमा १२ वर्षमा प्राकृतिक बासस्थानमा बाघको संख्या दोब्बर बनाउने र प्रत्येक वर्ष बाघ दिवस मनाउने भन्ने सामूहिक प्रतिबद्धता जाहेर गरिएको थियो । उक्त प्रतिबद्धता मुताबिक नेपालले बाघ संरक्षणका विविध कार्यक्रमहरु सञ्चालन गरी २०१० देखि २०२२ सम्म बाघको संख्या करिब तेब्बर (३५५) पुर्याएको छ ।