१५ श्रावण, चितवन । प्रदेश युवा परिषद् चितवनले माडी र जगतपुरमा सञ्चालन गरेको निःशुल्क सीप विकास तालिममा सहभागी भएका युवाहरुलाई दीक्षित गरिएको छ ।
युवा सीप वर्ष-२०८१ अन्तर्गत चितवनको जगतपुरमा सञ्चालित ४ वटा र माडीमा सञ्चालित ६ वटा तालिम कार्यक्रममा सहभागी रही ईलेक्ट्रियन, व्युटिसियन, ड्राइभिङ्, प्लम्बिङ, मेसन (डकर्मी) लगायतका सीप हासिल गरेका २०० जना युवाहरु मंगलबार दीक्षित भएका हुन् ।
प्रदेश युवा परिषद् चितवनका अध्यक्ष रामचन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न दीक्षान्त कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं लगायतले सहभागीहरुलाई कागजको टोपी पहिर्याई दीक्षित गर्नुभएको हो ।
बागमती प्रदेशभर करीब ५ हजार युवाहरुलाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको प्रदेश युवा परिषद्ले चितवन जिल्लाभरी ४०० जना युवाहरुलाई सीपमूलक तालिम प्रदान गरेको कार्यकारी उपाध्यक्ष चौलागाईंले जनाउनुभयो ।