चितवन- किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई नर्सलाई निलम्बन गरिएको छ । दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको छ ।
अस्पतालमा उपचारका निम्ति आएका बिरामीलाई दिनुपर्नेभन्दा १० गुणा बढी किमोको मात्रा दिइएपछि मृत्यु भएको थियो । ३.४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए ।
अस्पतालले दिएको जानकारी अनुसार, लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उपचार जारी थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिइएपछि गुरुङको मृत्यु भएको महतोले जानकारी दिए । उनका अनुसार, मेडिकल वार्डमा तीनपटकसम्म सोही मात्राको किमो दिइएपछि बिरामीको शरीरले धान्न नसकेर गएको असार १३ गते राति मृत्यु भएको थियो ।
बिरामीको उपचारमा लापरबाही गरेको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ नर्ससँग स्पष्टीकरण मागेको थियो । सूचना अधिकारी महतोका अनुसार, नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ । काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्ने साथै आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमन गर्ने व्यवस्था मिलाइने अस्पताल प्रशासनले जनाएको छ । (राससको सहयोगमा)