चितवन । एक परिवारले भोगचलन गरेको जमीनमा अवरोध हुँदा माडी-१, चैनपुरमा निर्माणाधीन चक्रपथ सडक अलपत्र परेको छ ।
माडीको पर्यटकीय पूर्वाधारका रुपमा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणी सामुदायिक वनहरुको छेवैबाट निर्माणाधीन पर्यटनमार्ग (चक्रपथ सडक) माडी-१, चैनपुरमा १५० मिटर अपुरो रहेको हो ।
माडी-१, पाण्डवनगरबाट सुरु भई मरोठ खोला हुँदै लक्ष्मुनिया पुग्ने सो बाटोमा एकजना व्यक्तिले भोगचलन गरिआएको जमीनमा निर्माण अवरोध हुँदा निर्माण साधन (डोजर) फर्किनु परेको स्थानीयबासी यमबहादुर अधिकारीले बताउनुभयो ।
‘बाटो निर्माणकार्य सल्लाहमा हुनुपर्ने र बलजफ्ती कसैको जमीनमा बाटो बनाउन नपाइने’ विवादित जग्गाधनी रुपा क्षेत्रीले बताउनुभयो । ‘बाटो निर्माण गर्न आफूहरुसंग सरसल्लाह नगरिएको र एकैपटक डोजर चलाउन खोजेको’ उहाँको भनाई छ ।
पर्यटन विकासको महत्वपूर्ण पूर्वाधारका रुपमा निर्माणाधीन सो सडकखण्डमा देखिएको विवाद हल गरी बाटो निर्माण कार्य पूर्णता दिन स्थानीय तह, सम्बन्धित मध्यवर्ती उपभोक्ता समिति र स्थानीयबासी एवं जग्गाधनीबिच छलफल हुन आवश्यक रहेको देखिएको छ ।