चितवन । माडीको महत्वपूर्ण पर्यटकीय एवं धार्मिकस्थलका रुपमा विकास भइरहेको चक्रतीर्थधामको थप विकासका अमेरिका निवासी उमा/ज्योति रानाभाट दम्पत्तीले १ लाख १११ रुपैंया प्रदान गर्नुभएको छ ।
रानाभाट दम्पत्तीका आमाबुबा (एवं सासुससुरा), माडी-४, सितलपुर निवासी टिकाराम/गंगा रानाभाटले शनिवार (आज) एक कार्यक्रमबिच सो रकमको चेक चक्रतीर्थधाम विकास समितिलाई हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण गरेको रानाभाट परिवारलाई धामका तर्फबाट सम्मान समेत गरिएको थियो ।
चक्रतीर्थधाम विकास समितिका अध्यक्ष भागिरथ बस्यालको अध्यक्षता र माडी-४ का वडाध्यक्ष माधव चापागाईंको प्रमुख आतिथ्यमा सम्पन्न रकम हस्तान्तरण कार्यक्रममा धामको कूल आयव्यय सार्वजनिक समेत गरिएको थियो ।
धामका कोषाध्यक्ष खेमप्रसाद पाठकले सार्वजनिक गर्नुभएको आयव्यय विवरण अनुसार धाममा कूल ८ लाख ६५ हजार ९९ रुपैंया आम्दानी भएको तथा ३३ हजार ९२ रुपैंया बोलचन्दा उठ्न बाँकी रहेको अवस्था छ । त्यस्तै, चक्रशीला स्थापना तथा अन्य कार्यहरुमा भएको खर्च कटाई संस्थासंग २ लाख ४६ हजार ७११ रुपैंया मौज्दात रहेको आयव्यय विवरणमा उल्लेख छ ।
माडी-४ खैरहनीस्थित हरिहर मन्दिर क्षेत्रमा निर्माण भएको र विश्वकै अग्लो करीब १२ फिट उचाईको शालिग्राम शीला स्थापना भएको सो धाम माडीको नयाँ धार्मिक पर्यटनस्थलका रुपमा विकास भइरहेको छ । धाममा दैनिक सयौं भक्तजन र पर्यटकहरू पुग्ने गरेका छन् भने धामको डि.पि.आर. बनाई सोही अनुसार निर्माणकार्य चलिरहेको अवस्था छ ।