चितवन । माडी-७, कीर्तनपुर देवीकोटस्थित मध्यवर्ती क्षेत्र पशु उपचार केन्द्र माडी नगरपालिकालाई हस्तान्तरण गर्ने औपचारिक निर्णय भएको छ ।
शनिवार माडी-७ का वडाध्यक्ष चन्द्रकुमारी बानियाँको रहोबारमा बसेको रेवा मध्यवर्ती उपभोक्ता समिति एवं चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र पशु सेवा उपभोक्ता समितिको बैठकले सो पशु उपचार केन्द्र माडी नगरपालिकालाई हस्तान्तरण गर्ने औपचारिक निर्णय गरेको हो ।
सोमबारबाट सो पशु उपचार केन्द्र भवन रंगरोगन र मर्मत सुरु गर्ने र एक सातापश्चात त्यहाँ नगरको भेटेरिनरी अस्पतालको सेवा विस्तार गर्ने प्रारम्भीक सहमती भएको जनाइएको छ । पशु उपचार केन्द्रको पुरानो ऋण र उठ्न बाँकी रकम साविकका कर्मचारीबाट नै व्यवस्थापन गर्ने पनि सहमती भएको वडाध्यक्ष चन्द्र कुमारी बानियाँले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत माडीभर सेवा क्षेत्र रहेको सो पशु उपचार केन्द्रले सुरुवातमा राम्रो सेवा प्रदान गरेपनि पछिल्ला दिनहरुमा अस्तव्यस्त भई बन्द रहेको छ । सो पशु उपचार केन्द्रलाई नगरमा समायोजन गर्न माडी नगरपालिकाले यसअघि नै नगरसभाबाटै निर्णय गरिसकेको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।