चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतो नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के.पी.वलीसंग भेट गरी निकुञ्जभित्र सडक निर्माण सम्बन्धी ‘फिर्ता भएको फाइल’ अगाडि बढाउन ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार सम्पन्न भेटमा प्रतिनिधिमण्डलले चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणका लागि क्याबिनेट बैठकमा पुगेर पनि फिर्ता भएको फाइल तत्कालै अगाडि बढाउन तथा निकुञ्जभित्र धुलोरहित बाटोका रुपमा ढलान सडक निर्माण गर्न ध्यानाकर्षण गराएको हो ।
त्यसैगरी, अयोध्याधामको बृहत्तर विकासका लागि ‘अयोध्याधाम क्षेत्र विकास समिति’को गठन गरी जग्गा प्राप्तीको निर्णयसहित आवश्यक बजेट विनियोजन गरिदिन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको माडी नगरप्रमुख महतोले बताउनुभयो ।
नगरप्रमुख महतोसहित एमाले चितवन जिल्ला सदस्य श्रीप्रसाद दवाडी, माडी नगर अध्यक्ष नारायण अधिकारी र उपाध्यक्ष रामेश्वर चौधरीका साथै राष्ट्रिय सभाका पूर्व सांसद पार्वती रावल एवं पूर्व सभासद कृष्णभक्त पोखरेल सम्मिलित टोलीले प्रधानमन्त्री ओलीसंग भेटसम्वाद गरेको हो ।