चितवन । माडी नगरपालिकाले चालू आर्थिक बर्षदेखि घरजग्गा सम्बन्धी एकीकृत सम्पत्ती करमा ३० प्रतिशतसम्म बढोत्तरी गरेको छ ।
गत असारमा सम्पन्न तेह्रौ नगरसभाले पारित गरेको आर्थिक ऐनअनुसार चालू आर्थिक बर्ष २०८१/८२ को सुरुवातबाट नगरपालिकाले घरजग्गाको करमा ३० प्रतिशतसम्म बृद्धि गरेको हो ।
घरजग्गाको नयाँ मुल्यसुचि मुताबिक चालू आर्थिक बर्षदेखि अधिकतम् ३० प्रतिशतसम्म कर बढेको नगरपालिकाको राजस्व प्रशासन शाखा प्रमुख सन्तोष सुवेदीले बताउनुभयो । पछिल्लो पाँच बर्षदेखि कायम रहेको एकीकृत सम्पत्ती करलाई यसबर्ष नगरसभाले समायोजना गरेको उहाँको टिप्पणी थियो ।
यसबाहेक, विगतमा विपद् व्यवस्थापन कोषका निम्ति रु ५० मात्रै लिने गरेकोमा यस आर्थिक बर्षदेखि सम्पत्ति करसंगै सरसफाई शुल्क समेत उठाउन थालिएको छ । सरसफाई शुल्कका रुपमा हरेक करदातासंग ५० रुपैंया लिने गरेको सम्पत्ती करको नगदी रसिदमा देख्न सकिन्छ ।
जनताको आयस्तर घटेको साथै आर्थिक सुस्तताले जनजीवन प्रभावित हुँदै गएको हालको परिवेशमा हरेक घरधुरीसंग सम्बन्धित रहने सो कर बढाउनु अनुचित रहेको करदाताहरुको गुनासो छ । आफूले गतबर्ष ८२० रुपैंया कर तिरेकोमा यसबर्ष सोही जमीनका लागि १ हजार १११ रुपैंया तिर्नुपरेको एक करदाता रमाकान्त सापकोटाले बताउनुभयो ।