चितवन । अयोध्यापुरी क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको विकास, प्रवर्द्धन र प्रचार प्रसारमा सहयोग पुर्याउने उद्देश्यले अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले ८ वटा सूचनामूलक होर्डिङ्गबोड राखेको छ ।
समितिले आफ्नो सेवा क्षेत्रभित्र पर्ने ६ वटा प्रमुख पर्यटकीय गन्तव्यहरु रामधाम, बैकुण्ठताल, शनिमन्दिर, त्रिवेणी मन्दिर, रामसीता गुफा र झोलुंगेपुलको तस्वीरलाई पेन्टिङ गरी माडी भरतपुर सडक छेउमा होर्डिङ्गबोड राखेको हो ।
माडी आउने पर्यटकहरुलाई ती क्षेत्रसम्म पुग्न सहज होस भनी गन्तव्यस्थलको जानकारी सहितको तस्वीर र कति टाढा पर्छ भन्ने दुरी समेत उल्लेख गरी पतरेखोलाको छेउ, शान्तिचोक, खरकट्टा वडा कार्यालय चोक, रामधाम चोक, बगहीँ पुल लगायतका स्थानमा होर्डिङ्गबोडहरू राखिएको समितिका अध्यक्ष शिवजी गायकले बताउनु भयो ।
चारैतिर हरियाली वनजंगलले घेरेको, धार्मिक एवं ऐतिहासिक स्थलहरु भएको, जैविक विविधताले भरिपूर्ण र विश्वमै दुलर्भ वन्यजन्तु एकसिंगे गैडा, पाटेबाघ लगायत थुप्रै पशुपंक्षीको बासस्थान रहेको, कृषि, माछा, फलफूल, पशुपालनको राम्रो संभावना रहेको माडी पर्यटनको हिसाबले महत्वपूर्ण रहेकाले यसको विकास र बिस्तारमा सबैले मिलेर काम गर्न सके माडीलाई नै एउटा पर्यटकीय गन्तव्य बनाउन सकिने समितिका अध्यक्ष गायकको भनाइ छ ।
भारतको विहार चाम्पानगरका पर्यटकलाई समेत माडी भित्र्याउन समितिले गत वर्षदेखि सीमापार क्षेत्रका पर्यटन व्यवसायी, ट्राभल एजेन्सीहरुसँग बैठक तथा छलफल गरिरहेको र केही पर्यटकहरु ठोरी हुदै माडी आउन थालेको उहाँले जनाउनुभयो ।