चितवन । धार्मिक अध्येता एवं अनुसन्धानकर्ता लोकमणि पौडेलले चन्द्रमाद्वारा स्थापित असली शिवलिङ्ग (सोमनाथ) माडीको सोमेश्वर पर्वतको शिखरमा रहेको बताउनुभएको छ । हिन्दुहरु सोमनाथको दर्शनका लागि भारतको गुजरात पुग्ने गरेपनि वराह पुराणको १४४औं अध्यायको १६औं श्लोक”ले चन्द्रमाद्वारा स्थापित शिवलिङ्ग (सोमनाथ) माडीमै रहेको उहाँले जनाउनुभयो ।
गण्डकीका पवित्र किनारमा अवस्थित सोमेश्वर पर्वतका नामले प्रसिद्ध पर्वतको शिखरमा चन्द्रमाले श्रापबाट निवृत्त हुनका लागि धेरै बर्षसम्म कठोर तपस्या गरी आफ्नै नाउँको शिवलिङ्ग (सोमनाथ) स्थापना गरेको बराह पुराणमा प्रष्ट उल्लेख रहेको पढ्न सकिन्छ ।
यस सन्दर्भमा खोजी गर्दा सोमेश्वरको शिखरमा चट्टानहरूको थुप्रोका बिचमा प्राचीन स्वरूपको शिवलिङ्ग र शिलालेख फेला परेको तर, त्यसको समुचित सम्भार हुन नसकेको अध्येता पौडेलले बताउनुभयो । त्यसैले असली सोमनाथको व्यापक प्रचारप्रसार हुनुपर्ने उहाँको भनाई छ ।