चितवन । माडीको बसन्तपुरमा सटर बाहिर सडकमै टेन्ट टाँगेर मिठाई बेचिरहेका एक व्यवसायी र त्यसो नगर्न अह्राएका माडी-३ का वडाध्यक्ष पुरन महतोबिच भनाभन भएको छ ।
रक्षाबन्धन पर्वका दिन सटरभन्दा बाहिर बाटोमा टेन्ट टाँगी मिष्ठान्न परिकार बिक्री गरिरहेको राजा मिष्ठान्न पसल, बसन्तपुरका सञ्चालक राजा साहलाई टेन्ट हटाई सटरभित्रै व्यवसाय गर्न वडाध्यक्ष महतोले भनेसंगै व्यवसायी साहले वडाध्यक्षसंग विवाद गरेका हुन् ।
विवादका क्रममा व्यवयासी पक्षले आफूलाई धकेलेर दुर्व्यवहार समेत गरेको वडाध्यक्ष महतोले बताउनुभयो । विवाद सुरु भएसंगै स्थानीयबासी र नजिकका व्यवसायीहरु समेत आई व्यवसायीलाई सटरभित्रै व्यवसाय गर्न लगाएका थिए ।
सोमबार बिहान सो विवाद भएसंगै सटर बाहिर सामान निकालेर बजार अव्यवस्थित हुनेगरी बिक्रीवितरण गरेका अन्य व्यवसायीहरुले समेत आ-आफ्ना सामान सटरभित्रै हुलेको देखिएको थियो । चाडपर्वको नाउँमा हुने यसप्रकारका गतिविधि नियन्त्रण गरिने वडाध्यक्ष महतोको भनाई छ ।