चितवन । प्रचण्ड नेतृत्वको सरकारले लागु गरेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध ओली नेतृत्वको सरकारले खोल्ने तयारी गरेको छ ।
चिनियाँ पक्षले पटक-पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । प्रधानमन्त्री ओलीले टिकटक प्रतिबन्ध खोल्नेबारे आवश्यक गृहकार्य गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनुभएको बुझिन्छ ।
पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा ल्याएको सामाजिक सञ्जाल नियमिन निर्देशिका अनुसार ‘सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको’ भन्दै गतबर्ष कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
यसबिचमा, टिकटकले लिखित पत्र लेखेर ‘नेपालका सबै कानुन र शर्त मान्ने’ लिखित प्रतिबद्धता जनाउँदै प्रतिबन्ध हटाउन माग गर्दै आएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले पनि हरेकजसो राजनीतिक भेटवार्तामा टिकटकको प्रतिबन्धबारे चासो राख्दै आउनुभएको छ ।