चितवन । खाना पकाउने दाउराका लागि निकुञ्ज वा सामुदायिक वनमा निर्भर रहेका उपभोक्ताहरुलाई माडीको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले ग्याँस चुल्हो सेट एवं बाख्राको सुरक्षित खोर वितरण गरेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष – जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको सहयोगमा समितिले आफ्नो सेवा क्षेत्रमा वनमा आश्रित गरीब बिपन्न १०० घरपरिवारलाई खाना पकाउने ग्याँस र चुल्हो सेट र १०० घरपरिवारलाई बाख्राको सुरक्षित खोर वितरण गरेको हो ।
पाँचपाण्डव उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्य र चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत महेश न्यौपाने, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ अधिकृत अनिल प्रसाईं, कार्यक्रम अधिकृत ऋषिराम सुवेदी लगायतको आतिथ्य रहेको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले माडीको अयोध्यापुरी उपभोक्ता समिति र पाँचपाण्डव उपभोक्ता समितिको सेवा क्षेत्रमा मानव र बन्यजन्तुबिचको द्वन्द न्यूनिकरण एवं आयआर्जन सम्बन्धि परियोजना सञ्चालन गरिरहेको छ । यसअघि सोही प्रकृतिबाट ग्याँस चुल्हो र बाख्राको सुरक्षित खोर अयोध्यापुरी उपभोक्ता समितिको सेवा क्षेत्रमा समेत वितरण भएको थियो ।