चितवन । माडी क्षेत्रमा एकपछि अर्को चोरीको घटना भइरहेपनि चोरलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरीलाई सफलता मिल्न सकिरहेको छैन ।
माडी नगरमा हरेक महिनाजसो (श्रृङ्खलाबद्ध) चोरीको घटना हुँदै आएको अवस्था छ । घटनाबारे प्रहरीले अनुुुन्धान अगाडि बढाउने गरेपनि प्रायः चोर(हरु) पक्राउ हुन भने सकिरहेको देखिँदैन ।
गएराती माडीको बसन्तपुरस्थित माडी आयल स्टोर्स (पेट्रोल पम्प)को ढोका र घर्रा फुटाई करीब डेढ लाख रुपैंया नगद चोरी भएको छ । यसअघि, गत श्रावण तेश्रो साता माडी-६, लक्ष्मीनिवासमा एक घरको ढोकाको चुकुल र दराज फुटाई करीब ५ लाख रुपैंया बराबर सुनचाँदीका गहना एवं नगद पैसा चोरी भएको थियो ।
पछिल्ला केहि घटनाहरु केलाउँदा माडी-६, लक्ष्मीनिवास गाउँमै बैशाख ११ गते राती एक वृद्धको घाँटीबाटै सुनको सिक्री चोरी भएको थियो । त्यस्तै, २०८० चैत्र १९ गते माडी-६ शिवराजपुरीमा एक महिलाको घाटीबाट एक तोलाको सुनको सिक्री चोरी भएको थियो ।
त्यसअघि असोज २२ गते माडी-५, ब्रह्मपुरी गाउँस्थित एक घर फोडेर सुनका गहना र नगद पैसा चोरी भएको थियो भने त्यसैगरी २०८० माघ १ गते माडी-६, रामराज्यपुरमा घरमा भाँडा माझिरहेका एक व्यक्तिको आँखामा खुर्सानीको धुलो छर्की घाँटीमा लगाएको साढे २ तोलाको सिक्री चोरी भएको थियो ।
यी सबैजसो घटनाहरुमा चोरलाई कारवाहीको दायरामा ल्याउन प्रहरीले प्रयास गरेको पनि हो, तर सफलता मिल्न सकेको भने छैन । यसबाट जनस्तरमा प्रहरीको सक्रियता र अनुसन्धान विधिप्रति प्रश्नचिन्ह उत्पन्न हुनुका साथै चोरीमा संलग्न अपराधी खुलेआम नयाँ चोरीको योजना बनाउँदै खुलेआम हिँडिरहने अवस्था बनेको छ ।