चितवन । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क यातायात (बस) सुबिधा उपलब्ध गराउन माडी क्याम्पस व्यवस्थापन र यातायात व्यवसायी पक्षबिच सम्झौता भएको छ ।
बिहीबार हस्ताक्षरित दुईपक्षीय सम्झौतामा ‘नारायणगढ माडी ठोरी रुटमा चल्ने बसहरुले माडीको बगहीँदेखि बनकट्टासम्मका विद्यार्थीहरुलाई माडीमा निःशुल्क यातायात सेवा प्रदान गर्ने’ र सो ‘सेवा प्रदान गरेबापत क्याम्पसले बार्षिक ५ लाख ५० हजार रुपैंया भुक्तान गर्ने’ उल्लेख रहेको हो ।
सम्झौता अनुसार चितवन छहारी तथा नारायणी यातायात प्रा.लि.का बसहरुले नियमित पठनपाठन एवं अतिरिक्त कक्षा सञ्चालन भएका दिनहरुमा क्याम्पसको पोशाक, परिचयपत्र वा पाठ्यपुस्तकमध्ये कुनै दुईका आधारमा विद्यार्थीहरुलाई बसन्तपुर बजारसम्म निःशुल्क ल्याउनेछन् र लैजानेछन् ।
यसबाहेक बिहानी समयमा बनकट्टाबाट बसन्तपुरसम्म विद्यार्थी ल्याउन यातायात व्यवसायी पक्षले छुट्टै बसको व्यवस्था गर्नेछन् । आउँदो २०८२ साल असार मसान्तसम्म कायम रहने सो सम्झौतामा ‘ज्येष्ठ नागरिक, बिरामी, अपांगता भएका वा गर्भवती महिला बस चढेमा विद्यार्थीहरुले उठेर सिट खाली गरिदिनुपर्ने’ बुँदा समेत उल्लेख रहेको छ ।
सम्झौतामा, क्याम्पसका तर्फबाट व्यवस्थापन समिति सम्बद्ध देबीलाल पौडेल र ऋषिराम काफ्लेका साथै क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीले र यातायात व्यवसायीका तर्फबाट हितमान गुरुङ, माधव आचार्य, बिनोद भट्टराई र पुरन थापाले हस्ताक्षर गर्नुभएको छ ।