चितवन । माडी नगरपालिकाको चालू आर्थिक बर्ष २०८१/८२ को पहिलो सार्वजनिक सुनुवाईमा सहभागी रहँदै नगरवासीहरुले कयौं प्रश्न, जिज्ञासा र सुझावहरु प्रस्तुत गरेका छन् ।
नगर कार्यपालिका कार्यालयको आयोजना तथा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था, भरतपुर, चितवनको सहजिकरणमा माडी क्याम्पसको सभाहलमा सो सुनुवाई सञ्चालन भएको हो ।
कार्यक्रमका सहभागीहरुले ३० प्रतिशत सम्पत्ति कर बढेको, पतरे खोलामा पुल नबनेको, अपांगता शीर्षकको बजेट घटेको, अपांग समन्वय समितिको कार्यालयमा शौचालय नरहेको, छोरी बुहारी छात्रवृत्ति हटाइएको लगायतका प्रश्न र गुनासो गरेका थिए ।
त्यस्तै, नगरले खेलाडी र खेलकूदको क्षेत्रमा पर्याप्त ध्यान दिन नसकेको गुनासो एवं कतिपय बजेट फ्रिज भएको तथा कतिपय क्षेत्रमा नीतिगत अनियमितता भएको आरोप उठेको थियो ।
त्यस्तै, नगरबाट करीब ३००० कृषकहरु प्रत्यक्ष लाभान्वित भएको र सीमित श्रोतलाई न्यायोचित वितरणको प्रयास भएको देखिएको भन्दै प्रशंसा समेत भएको थियो ।
त्यस्तै, सहजकर्ता संस्थाले प्रस्तुत गरेको नागरिक अभिमत प्रतिवेदनमा नागरिक बडापत्र राखिनुपर्ने, वडाहरुमा पनि सुचना अधिकारीको व्यवस्था गरिनुपर्ने, उपभोक्ता समिति अनुशिक्षण गरिनुपर्ने, नगर प्रहरीको व्यवस्था हुनुपर्ने, राजनैतिक हस्तक्षेप रोकिनुपर्ने लगायतका सुझाव उल्लेख रहेको देखिन्छ ।