चितवन । मन्त्रीपरिषद् बैठकले अन्ततः चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ २७ गते बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न १७ वटा निर्णय गरेको मध्ये निणर्य नं. ८ मा हुलाकी राजमार्ग चितवन खण्ड अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज भित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।
हाल निकुञ्जभित्र अमुवा पोष्टबाट बगहीं र बनकट्टा पोष्टबाट ध्रुब हुँदै कसरा पुग्ने सडक रेखाङ्कन रहेको छ । त्यसलाई परिमार्जन गरी हनुमानझुलाबाट कुसुमखोला हुँदै बगहीँ निक्लने र बनकट्टाबाट ध्रुब हुँदै राप्तीघाटमा पुल निर्माण गरी निकुञ्जभित्र छोटो सडक बनाउन नयाँ सडक रेखाङ्कनको प्रस्ताव रहेको छ ।
निकुञ्ज भित्रको बाटोको रेखाङ्कन संशोधन सम्बन्धमा अर्थ मन्त्रालयको सैद्धान्तिक सहमती लिएर भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव लगेकोमा यसअघि केहि अस्पष्टताका कारण फिर्ता भएको थियो ।
त्यसयता, सो प्रस्ताव फाइलमा थप डकुमेन्टेशन गरी भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीपरिषदमा पुनः प्रस्ताव गरेकोमा बिहीबार स्वीकृत भएको हो । योसंगै अब हुलाकी सडक आयोजनालाई सो बाटोको ई.आई.ए. र डि.पि.आर. गर्न बाटो खुलेको छ ।