चितवन । थारु समुदायको महान पर्व जितियाको अवसर पारी माडीको बरुवा बजारमा जितिया विशेष साँस्कृतिक कार्यक्रम सञ्चालन (सुरू) भएको छ ।
थारु कल्याणकारिणी सभा, क्षेत्र नं. १, माडी, चितवनको आयोजनामामा सञ्चालित सो कार्यक्रममा माडीका सबैजसो थारु गाउँ र थारु बाहुल्य क्षेत्रका महिला समूहहरुले जितिया विशेष झम्टा प्रदर्शन गरेका छन् । कार्यक्रममा जितिया झम्टासंगै बदहा र अन्य थारु लोककलाको समेत प्रदर्शन भइरहेको आयोजकले जनाएको छ ।
थाकस माडीका अध्यक्ष शुक्रमीया चौधरीको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतो, नगर उपप्रमुख खेमप्रसाद महतोसंगै राजनैतिक सामाजिक अगुवाहरुको आतिथ्य रहेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले जितियाको शुभकामना व्यक्त गर्दै थारु भाषा, भेषभूषा र संस्कृतिको संरक्षणमा जोड दिएका छन् ।
आदिवासी थारु जातिको बाहुल्यता रहेको माडी नगरपालिकामा वर्षेनी जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा, क्षेत्र नं. १,माडीको आयोजनामा जितिया बिशेष झम्टा कार्यक्रम संचालन हुँदै आएको छ । यसबर्ष थाकसका विभिन्न क्षेत्रीय समितिले चितवनका विभिन्न क्षेत्रमा जितिया विशेष कार्यक्रम सञ्चालन गर्दैछन् ।