माडी, चितवन । माडी नगरपालिकाको अनुरोध बमोजिम सडक डिभिजन कार्यालय भरतपुरले निकुञ्जभित्रको बाटोको मर्मत कार्य सुरु गरेको छ ।
दशैं, तिहार जस्ता पर्वहरुको सन्दर्भमा सवारी आवागमन बढ्ने भएकाले पूर्वतयारी स्वरुप निकुञ्जभित्र कसरास्थित राप्ती पुलदेखि बनकट्टास्थित रीउ पुलसम्म बाटो मर्मत सुरु भएको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।
ग्रेडर, रोलर र टिप्परको प्रयोगबाट चलिरहेको हालको सडक मर्मत कार्यसंगै केहि दिनभित्रै निकुञ्जभित्र बाटोको दुबैतर्फ बढेको झाडी फाँड्ने काम समेत गरिने नगरप्रमुख महतोले बताउनुभयो । यसबाट दशैंको समयमा माडी आउने र जाने यात्रुहरुलाई सहजता र सुरक्षा महसुस हुने उहाँको भनाई छ ।
यसैबिच, सडक डिभिजन कार्यालय भरतपुरले रीउ नदीको पुलको दक्षिणतर्फ रहेको एकतर्फी पुरानो पुलको मर्मत समेत सुरु गरेको छ । रीउ नदीमा सुरुमा बनेको सो एकतर्फी पुल कमजोर भएकाले कुनै दुर्घटना हुनुअगावै मर्मत थालिएको नगरप्रमुख महतोले बताउनुभयो । (फाइल फोटो)