

वाम गठबन्धनका शीर्ष नेता तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक स्थायित्व, समृद्धि, शुसासन र भष्ट्राचार नियन्त्रण नै वाम गठबन्धनको संकल्प रहेको जनाएका छन् ।

नेपाल पत्रकार महासंघ, चितवन शाखाले विहिवार भरतपुरमा आयोजना गरेको निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहेका उनले सो कुरा बताए । अहिलेको बामगठबन्धन संविधानको भावना र मर्म बमोजिमनै अगाडि बढ्ने बताउँदै उनले वाम गठबन्धन प्रति फैलाइएको अधिनायकवाद लादिने प्रचार गलत भएको जनाए । नेपालका वामपन्थी लोकतान्त्रिक रहेकोले प्रेस सवतन्त्रताको पक्षमा रहेको समेत उनको स्पष्टोक्ति थियो । उनले पत्रकारिता क्षेत्रको विकासका लागि चितवनमा आमसञ्चार प्रतिष्ठान निर्माण गरिने समेत बताएका छन् ।

सोही कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विकास कठिन भएपनि असम्भव नभएको भन्दै यसका लागि जनता परिश्रमी र सरकार इमान्दार हुनुपर्ने बिचार राखे । कार्यक्रममा चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेल, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, उपाध्यक्ष शान्ता अधिकारी लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा चितवनको ३ वटै प्रतिनिधि सभा एवं छ वटै प्रदेश सभाका जनप्रतिनिधीहरुलाई महासंघले बधाई एवं शुभकामना व्यक्त गरेको थियो ।
