चितवन । पक्षघातबाट पीडित भई हाल उपचारमा रहनुभएका माडी हनुमानझुला (बाँदरझुला) निवासी मदन तामाङको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान सञ्चालनमा रहेको छ ।
हनुमानझुलाका युवाहरुले सञ्चालन गरेको ‘हाम्रो हनुमानझुला’ फेसबुक पेजको समन्वयमा स्वदेश र प्रवासमा सहयोग संकलन अभियान चलेको हो । एक साताअघि सुरुवात भएको सो अभियानबाट हालसम्म करीब १ लाख बढी रकम संकलन भइसकेको तामाङका दाजु मोहन स्याङतानले बताउनुभयो ।
करीब ३ महिनाअघि राती सुत्ने क्रममै पक्षघात भइका र उठ्न नसकेका तामाङको हाल योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा उपचार भइरहेको छ । पर्साको ठोरी दिपकनगरस्थित नेपाल राष्ट्रिय प्राविधिक मा.वि.का शिक्षक समेत रहनुभएका पक्षघात पीडित तामाङको अवस्था क्रमशः सुधारोन्मुख रहेको परिवारले जनाएको छ ।