माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको रीउ नदीमा खतराको पार गरेको छ ।
शनिवार बिहान ६ः३० बजेको मापन अनुसार रीउ नदीमा पानीको गहिराई ३.८५ मिटर पुगेको छ । रीउ नदीमा ३.४० लाई सतर्कताको तह र ३.८० मिटरलाई खतराको तह मान्ने गरिन्छ । रीउ नदीका सहायक माडीका अन्य खोला खहरेहरु पनि बाढीग्रस्त बनेका छन् ।
उता, नारायणी नदीले पनि खतराको तह पार गरेको छ । देवघाटस्थित बाढीमापन केन्द्रका अनुसार शनिवार बिहान ६ः३० बजे नारायणी नदीमा पानीको बहाव १०.७५ मिटर रहेको छ । नारायणी नदीमा ७.३ मिटरलाई सर्तकताको तह र ९ मिटरलाई खतराको तह मानिएको छ ।
बाढीकै कारण माडीको यातायात सेवा प्रभावित रहेको छ । निरन्तरको वर्षाले मगोई, घाँगर र बगहीँ खोलामा आएको बाढीले माडी-ठोरी सडक खण्ड अवरुद्ध बनेको हो । बर्षासंगै गएको बाढी पहिरोका कारण देशैभरको सडक यातायात समेत प्रभावित रहेको छ । आज (शनिवार) दिनसम्म लगातार बर्षा हुने र आइतबारदेखि क्रमशः मौसममा सुधार आउने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।