माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको बनकट्टा, धोबाहा, रतनी र सिमरा लगायतका गाउँहरुमा डुबान भएको छ ।
रीउ नदीको बाढी बस्तीमा प्रवेश गर्दा माडी-१, बनकट्टास्थित चन्द्रपुरी टोलमा करीब ५० घरमा बाढी प्रवेश गरेको हो । सो स्थानमा तल्लो तलामा रहेका सामान र अन्न अनाज भिजेको र सामानहरु सुरक्षित स्थानमा सार्ने काम गरिरहेको माडी प्रहरी प्रमुख केदारमान दोङ्ले बताउनुभयो ।
त्यस्तै, रीउ नदीको बाढी माडी-३ धोबाहा र रतनी गाउँमा प्रवेश गर्दा बस्ती डुबानमा परेको वडाध्यक्ष पुरन महतोले बताउनुभयो । रीउ नदीको ड्याम बिचमा बाटोका लागि छाडिएको स्थानबाट बस्तीमा प्रवेश गरेको बाढीले रतनी गाउँमा १० घर, मलाही टोलमा ८ घर र धोबाहा गाउँमा १० घर डुबानमा परेको उहाँले जनाउनुभयो ।
उता, बनकट्टास्थित मरोट खोलाको बाढीले झोलुंगे पुल नजिकको पोखरी डुबानमा पर्नुका साथै बनकट्टा बोटे टोल जोखिममा परेको स्थानीय युवा जगनारायण बोटले जानकारी दिनुभयो । डुबानग्रस्त क्षेत्रमा खोला तर्काउन एक्सकाभेटर (जे.सि.बी.) पठाउन लागिएको माडी नगरप्रमुख ताराकाजी महतोले जनाउनुभयो ।