माडी, चितवन । सरकारले माडी नगरपालिकासहित पूर्वी र मध्यनेपालका ४१ वटा पालिकाहरुलाई समेटेर ३ महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।
चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका संकटग्रस्त घोषित छन् । यसबाहेक पाँचथर, ओखलढुंगा, उदयपुर, धादिङ, दोलखा, सिन्धुपाल्चोक, ललितपुर, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुली र मकवानपुर जिल्लाका बाढी प्रभावित गाउँँपालिकाहरु समेत ‘विपद् संकटग्रस्त क्षेत्र’मा परेका छन् ।
गृहमन्त्री रमेश लेखकले आवश्यक स्रोतसाधन केन्द्रित गरेर संकटग्रस्त क्षेत्रमा राहत, पुनःस्र्थापना र पुनर्निर्माण लगायतका कामलाई द्रुतगति दिइने बताउनुभयो । गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो मात्रामा जनधनको क्षति गरेको थियो ।
यसअघि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को अवस्था मूल्यांकन गरेर संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । बाढीपहिरोमा परी २ सय ३९ जनाको मृत्यु भएको छ भने अझै १९ बेपत्ता छन् । सयौं परिवार घरबारविहीन भएका छन् । क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै अवरुद्ध छ ।