चितवन । रामायणका रचयिता आदि महाकवि महर्षि वाल्मीकिको जन्मजयन्तीका अवसरमा माडीमा भजनकीर्तन सहित प्रभातफेरी गरिएको छ ।
रेवेश्वर शिवालय मन्दिर, बरुवा बजार व्यवस्थापन समिति एवं स्थानीय महिला तथा टोल विकास संस्थाहरुको आयोजनामा, आश्विन शुक्ल पूर्णिमा तिथिमा पर्ने बाल्मीकि जयन्ती माडीमा पहिलोपटक मनाइएको हो ।
माडी नगरपालिका वडा नं. १ मा पर्ने बाल्मीकि आश्रममा महर्षि बाल्मीकिले कुटी बनाई निवास गर्नुका साथै महाकाव्य रामायण लेखन गरेको तथा सीता माता एवं लवकुशसंज जोडिएका महत्वपूर्ण सम्पदाहरु रहेका छन् ।
महर्षि बाल्मीकिको निर्विवाद बसोबासस्थान समेत रहेको माडी नगरमा पहिलोपटक बाल्मीकि जयन्ती मनाउँदा आगामी बर्षदेखि यसलाई नगरस्तरमै स्थानीय बिदासहित भव्यतापूर्वक विशेष उत्सवका साथ मनाउनुपर्ने विचार व्यक्त भएको थियो । आगामी बर्षदेखि पूर्व तयारी र झनै भव्यतापूर्वक सो जयन्ती मनाइने रेवेश्वर शिवालय मन्दिरका अध्यक्ष पण्डित रामजी सापकोटाले बताउनुभयो ।