चितवन । ट्रयाक्टर लगायतका यन्त्र उपकरणहरुको भाडादर तोकिएपनि सम्बन्धित व्यवसायीहरुले बढी शुल्क असुलेको गुनासो आएसंगै माडी नगरपालिकाले भाडादर कायम गर्न गराउन सुचना गरेको छ ।
नगरपालिकाले विहीबार एक सुचना प्रकाशित गर्दै नगरस्तरीय कृषि यन्त्रहरुको भाडादर निर्धारण कार्यदलले तोकेको भाडादर भन्दा बढी असुल नगर्न र कहिँकतैबाट निर्णय उल्लंघन भएको भए कारवाही हुने जनाएको हो ।
तोकिएको भाडादर अनुसार हाइरो वा कल्टीले जोत्दा प्रतिमिनेट ३० रुपैंयाका दरले एक घण्टाको १८०० रुपैंया तथा रोटाभेटरले जोत्दा प्रतिनिनेट ३५ रुपैंयाका दरले एक घण्टाको २१०० रुपैंया भाडादर रहेको छ । त्यस्तै थ्रेसर लगाउँदा प्रतिमिनेट ३० रुपैंयाका दरले एक घण्टाको १८०० रुपैंया र रिपर चलाउँदा प्रतिमिनेट २१ रुपैंयाका दरले एक घण्टाको १२६० रुपैंया निर्धारण रहेको छ ।
यसमाथि, कुनैपनि सरकारी निकायबाट अनुदानमा प्राप्त गरेका कृषि उपकरण भाडामा चलाए १० प्रतिशत छुट गर्नुपर्ने व्यवस्था समेत रहेको छ । यसअघि, व्यवसायीहरुले निर्धारित रकमभन्दा बढी रकम असुलेको गुनासो आइरहेको र भाडादर सम्बन्धमा नगरपालिकाको अनुगमन पक्ष फितलो रहेको भन्दै स्वदेश एफ.एम.ले समाचार प्रकाशन प्रशारण गरेको थियो ।