

चितवन । खेतमा काटेर सुकाउन राखेको धान बर्षाले भिजाएसंगै माडीका किसानहरु धान बिग्रने डरले चिन्तित भएका छन् । सोमबारदेखि माडी लगायत अन्य स्थानमा पानी पर्दा काटेर भित्र्याउने तयारी गरेको धान भिजाएको हो ।

माडीका सबैजसो क्षेत्रमा हाल धान काट्ने र भित्र्याउने चटारो भइरहेको समयमै लगातार दुई दिन मध्यरातको समयमा बर्षा भएको छ । यस पटक बर्षायामसंगै असोज दोश्रो सातासम्म ठूलो र निरन्तर पानी परेपनि गत असोज मध्यदेखि मौषम मुख्यतः सफा रहेको थियो ।

लामो समयको मेहनतबाट भित्र्याउन ठिक्क परेको धानबाली पानीले भिजाएसंगै किसानहरुमा शोक र चिन्ता थपिएको छ । दुई चार दिन अगाडि काटेर खेतमा राखिएको धानबाली भिजेपछि थप सुकाउनु पर्ने र धान विबग्रने डर हुन्छ । पानीले भिजेको धान मिलमा कुटाउँदा चामल टुक्रिने र भात पनि मीठोे नहुने कृषकहरु बताउंछन् ।
