चितवन । माडी-१ को वडास्तरीय सर्वदलिय बैठकले हाल पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको कार्यालय सञ्चालनमा रहेको भवन माडी नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको छ ।
वडाध्यक्ष अमित कुमार लामाको अध्यक्षतामा मंगलबार रेडक्रस गर्दी उपशाखाको कार्यालय भवनमा सम्पन्न माडी १ का जनप्रतिनिधिहरु सहितको सर्बदलिय बैठकले सो भवनको व्यवस्थापन माडी नगरपालिकाले नै गर्नुपर्ने भन्दै नगर कार्यपालिकालाई सिफारिस गर्ने निर्णय गरेको हो ।
करीब एक दशकअघि तात्कालीन गर्दी गा.वि.स.स्तरीय सर्बदलिय संयन्त्रले सो भवन अर्को व्यवस्था नहुँदासम्म पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिलाई उपयोग गर्नदिने निर्णय गरेको थियो ।
त्यसयता भवनको उपयोग पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले गरिआएको छ । सभाहल सहितको सोही भवनमै एवं गर्दी चुरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको कार्यालय समेत सञ्चालनमा रहेको छ भने नेपाल टेलिकमको टावरका उपकरणहरू पनि रहेका छन् ।
पछिल्लो समय वडा नं. १ कार्यालयले आफ्नो भवन निर्माण गर्न बजेट व्यवस्थापन गरेसंगै सो भवनको बहस सतहमा आएको हो । माडी १ र २ को सीमामै रहेको सो भवनको स्वामित्व र उपयोगका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको बुझिन्छ ।