चितवन । माडी नगर क्षेत्रमा करीब १०० जना एच.आई.भी. संक्रमितहरु रहेका छन् । वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकको स्वास्थ्य तथा एच.आई.भी. संक्रमितहरुबारे विद्यमान नीति कानुनबारे माडीमा सञ्चालित छलफल कार्यक्रममा सो जानकारी सार्वजनिक भएको हो ।
पौरखी नेपाल नामको संस्थाको आयोजनामा सोमबार माडी नगरपालिकाको सभाहलमा बैदेशिक रोजगारीमा रहेका महिलाहरुको अवस्था एवं एच.आई.भी. संक्रमणबारे नीतिगत सुधार सम्बन्धी प्रारम्भीक छलफल भएको थियो ।
छलफलका क्रममा एच.आई.भी. संक्रमित भई माडीबाट नियमित औषधि खानेहरुको संख्या १०० वरपर रहेको र त्यसमध्ये केहिको मृत्यु भएको र केहिले आत्महत्या समेत गरेको जनाइएको थियो ।
उनीहरुमध्ये केहिमा मनोसामाजिक समस्याका साथै बाहिर खुल्न नआउने अवस्था पनि रहेकोबारे छलफल भएको हो । यसबाहेक वैदेशिक रोजगारीमा गएका र रहेका महिलाहरुको अवस्था सुधारबारे समेत नीतिगत सुधार तथा अन्य विषयमा छलफल भएको हो ।
सोही छलफलका क्रममा पौरखी नेपालले माडी क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका महिला एवं एच.आई.भी. संक्रमितहरुको अवस्था सुधारबारे एक नयाँ परियोजना सञ्चालन गर्न लागेको पनि जानकारी दिएको छ ।