चितवन । घरटोल सरसफाई, फोहर व्यवस्थापन र सडक श्रृङ्गारमा माडी-८ स्थित दक्षिण अयोध्यापुरी टोल आकर्षक एवं नमुना बन्दै गएको छ ।
स्थानीय फुलबारी महिला समूह सम्बद्ध महिलाहरुको अगुवाईमा टोलका सबै घरहरु सफासुग्घर गर्नुका साथै हरेक घरअगाडि नकुहिने फोहोर संकलनका लागि डोको राखी फोहोर व्यवस्थापन गरिएको छ ।
त्यस्तै, टोलमा रहेको नवनिर्मित अयोध्या मार्ग कालोपत्रे सडक र पुललाई समेत युरोपियन बाटोझैं सरसफाई गरी सफा पारिएको देखिन्छ भने बाटोको दुबैतर्फ रातो र सेतो रंग पोतिएका ढुङ्गा बिछ्याएर आकर्षक बनाइएको छ ।
हाल सो टोलमा पुग्ने जो कोहिले पनि सरसफाई, फोहर व्यवस्थापन एवं सडक श्रृङ्गारको उच्च प्रशंसा गर्नेगरेका छन् । ‘सभ्य समृद्ध समाज निर्माणको आधार, टोल टोलमा सुव्यवस्थित पूर्वाधार’ भन्ने नारासहित नमुना टोल बनाउने अभियान चलाइएको स्थानीय महिला अगुवा एवं शिक्षक सोमा पन्तले बताउनुभयो ।