चितवन । आफूलाई माडीको फिरन्ते समूह बताउने युवाहरुको एक समूहले माडी भ्रमणको निम्तो दिने भन्दै पर्वतीय चुम भ्यालीको यात्रा गरेका छन् ।
नेपालको दक्षिणी सिमानामा रहेको सुन्दर माडी नगरपालिकाको भ्रमण गर्न निम्तो दिन उत्तरी सीमामा रहेको चुम भ्यालीको भ्रमणमा निक्लिएको टोलीका एक सदस्य नवराज चापागाईंले बताउनुभयो ।
माडीका पर्यटकीय स्थानहरुको ब्यानर सहित उत्तर पूर्वी गोर्खास्थित चुम उपत्यकामा पदयात्रामा रहेका ‘फिरन्ते युवाहरु’मा चापागाईं सहित घनश्याम लामिछाने, रामु पौडेल, नारायण सुबेदी, विश्वास आचार्य, अनुप चापागाईं लगायत रहेका छन् ।
बुद्धको पञ्चशीलको मान्यता अनुसरण गरिएको तथा अति प्राचीन बौद्ध संस्कृति भएको सो उपत्यकामा कहिल्यै पनि काटमार गरिँदैन । चुमबासी कुनै पनि जीवजन्तुको काटमार गर्दैनन्, शिकार खेल्दैनन्, मह काढ्दैनन्, डडेलो लगाउँदैनन् र मासु व्यापारीलाई गाउँ पस्न दिँदैनन् । चीनसँग सीमा जोडिएको सो सुन्दर हिमाली उपत्यका घुम्न सयौँको संख्यामा स्वदेशी एवं विदेशी पर्यटकहरु पुग्ने गरेका छन् ।