चितवन । पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ ।
बिहीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान चाड छठ सकिएको हो ।
माडी नगरपालिकामा कल्याणपुरस्थित बाँदरमुढे खोला घाट, बसन्तपुर र रेवाटोलस्थित रौतनी खोला घाट, रतनी गाउँस्थित रीउ नदी घाट र बरुवास्थित चितई खोला घाट लगायतका स्थानहरुमा भव्यरुपमा छठपूजा मनाइएको हो ।
छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पातसहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाउने गरिन्छ ।
छठ पर्वमा ब्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो ।