माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष बिक्रम पाण्डेले राप्रपा वा आफूलाई देशको जिम्मा दिए पाँच बर्षमै विश्वकै सुन्दर देश बनाउने जिकिर गर्नुभएको छ ।
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन माडी नगरको अधिवेशन कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं चितवन ३ का सांसद समेत रहनुभएका पाण्डेले सो कुरा बताउनुभएको हो । बिक्रम पाण्डे (आफू)ले विकास नगरेको भन्नेहरु पागल, बहिरा वा देशद्रोही रहेको उहाँको आरोप थियो ।
देशमा एमाले, काँग्रेस र माओवादीजस्ता ठूला पार्टीहरुको शासन रहँदा के विकास भयो भन्ने प्रश्न गर्दै सांसद पाण्डेले अहिले काँग्रेस र एमालेको बहुमतको सरकारले केहि नगरेको र बाढीपहिरोको समयमा भागेको टिप्पणी गर्नुभयो । माओवादीले माडीमा बस पड्काएर तथा १७ हजार मान्छे मारेर ल्याएको गणतन्त्र छोराबुहारीलाई सरकारमा लैजानमै सिमित रहेको उहाँको आरोप थियो ।
चितवनमा प्रदेश सांसद र भरतपुरका मेयर माओवादी केन्द्रकै रहेको भएपनि विकास नभएको भन्दै सांसद पाण्डेले माडीमा मालपोत, नापी र ईलाका प्रशासन कार्यालय ल्याउन तथा निकुञ्जमा लिइने प्रवेश शुल्क हटाउन राप्रपा र आफ्नो योगदान रहेको बताउनुभयो । आफूहरुले ठेक्का लगाएको पुल अरुले रिबन काटीरहेको उहाँको टिप्पणी थियो ।
देशमा राजा हटेपछि लाखौं नागरिकता बितरण भई नेपालीहरु अल्पमतमा पर्ने अवस्था आएको बताउँदै उहाँले दलहरुले मिडियालाई कब्जा गरी आफ्नो पक्षमा कीर्तन गाउन लगाएको आरोप लगाउनुभयो । संसद भवनमा आवाज दिएर केही नहुने भन्दै संसदमा बोल्ने समयमा मन्त्रालयहरुमा गई आफूले बजेट पार्ने गरेको उहाँको भनाई थियो ।