चितवन खबर पोष्ट

कालोपत्रे गर्दा बिग्रिएको स्थानमा बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनद्वारा मर्मत (भिडियो सहित)

माडी, चितवन । माडी-३, गुल्मेली टोल (ईनारबरुवा)मा कालोपत्रे गर्दा बिग्रिएको स्थानमा ठेकदार कम्पनी बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनले कालोपत्रे मर्मत गरेको छ ।

कालोपत्रे गर्दा गुणस्तर नपुगेको लाइनमा पुनः प्राइम छर्किएर अस्फाल्टको नयाँ तह थप गरी कालोपत्रे सुधार गरिएको माडी-३ का वडाध्यक्ष पुरन महतोले बताउनुभयो । सघन शहरी तथा भवन निर्माण आयोजनाका ईञ्जिनियर र स्थानीय उपभोक्ताहरुको उपस्थितिबिच मंगलबार कालोपत्रे मर्मत भएको वडाध्यक्ष महतोले जनाउनुभयो ।

निर्माण स्थलमा भेटिनुभएका ठेकदार कम्पनीका सञ्चालक राजु सडौलाले काम गर्दैजाँदा केहि कमीकमजोरी रहन गएकोमा स्टीमेट अनुसारको गुणस्तर कायम हुनेगरी मर्मत गरिएको बताउनुभयो । प्रतिकूल अवस्थाबिच आफ्नो कम्पनीले माडीमा रहेका कालोपत्रे ठेक्काका कामहरु अगाडि बढाइरहेको उहाँको भनाई थियो ।

यसअघि, पूर्वी चितवनको खैरहनी नगरपलिका-६, पर्सा बजारस्थित सो ठेकदार कम्पनीले राती करीब २ बजेसम्म गरेको ‘कालोपत्रे गुणस्तरहीन रहेको’ भन्दै स्थानीय टोलबासीले आपत्ति जनाएका थिए । कालोपत्रे गरेको स्थानमा अलकत्रा सहितको गिट्टी (अस्फाल्ट कंक्रिट) बुर्बुर उप्किरहेको देखाउँदै स्थानीयबासीले ‘झारा टार्नेगरी न्यून गुणस्तरको कालोपत्रे भएको’ भनी बिरोध गरेका थिए ।

निर्माण व्यवसायी सडौलाको कम्पनीले माडीका गरेका अन्य कालोपत्रे कार्यहरु पनि विवादमुक्त हुनसकेका छैनन् । माडी-७, गोपालनगरमा समेत गुणस्तरहीन कालोपत्रे भएको भन्दै स्थानीयबासीहरुले बिरोध गरेका थिए । सघन शहरी तथा भवन निर्माण आयोजनाको बजेटबाट सडौलाको कम्पनीले माडीका आधा दर्जन बढी स्थानमा कालोपत्रे गरिरहेको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार