माडी, चितवन । बैकुण्ठ धाममा आयोजित बालाचतुर्दशी बैकण्ठेश्वर मेलाको तयारी स्वरुप मेलास्थलमा व्यापक जनसहभागिताबिच उत्साहपूर्वक सरसफाई गरिएको छ ।
शनिवार फूलबारी आमा समूह, दक्षिण अयोध्यापुरी टोल विकास संस्था एवं बैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन मूल समिति लगायत स्थानीयबासीहरुले मेला लाग्ने चौर, बैकुण्ठ महादेवको मन्दिर परिसर र बैकुण्ठ ताल क्षेत्रमा व्यापक सरसफाई गरेका हुन् ।
यसबाहेक स्थानीयबासीले मेलास्थल पुग्ने कालोपत्रे बाटोको दुबैतर्फ रंग पोतिएका ढुङ्गा राखी सडक सजावट कार्यलाई पनि अगाडि बढाएका छन् । ‘यसपटकको बैकुण्ठ मेला विगतको भन्दा भव्य, परिष्कृत र सरसफाईको दृष्टिकोणले उत्कृष्ट बनाइने’ स्थानीयबासी एवं शिक्षक सोमा पन्तले बताउनुभयो ।
मेला अन्तरगत यसअघि बैकुण्ठ तालमा डुबेर मृत्यु हुनपुगेका सबैजनाको आत्माको चीर शान्तिको कामना गर्दै मेलाको पहिलो दिन मंसिर १४ गते स्वस्ती शान्ति पूजा गरिने र सोही दिनबाट भलिबल खेल सञ्चालन गर्ने कार्यक्र रहेको मेलाका संयोजक राजकुमार परियारले बताउनुभयो ।
मंसिर १५ गते बिहानदेखि सत्बिज छर्ने, पञ्चधारा स्नान गर्ने, बजार मेला चलाउने र राष्ट्रिय कलाकारहरुसहित बृहत् साँस्कृतिक कार्यक्रम सञ्चालन हुने माडी ८ का वडाध्यक्ष वीरेन्द्र भण्डारीले जनाउनुभयो । बैकुण्ठ मेलामा माडीसंगै देशका विभिन्न स्थानबाट हजारौंको संख्यामा भक्तजन र दर्शनार्थीको घुइँचो रहने गरेको छ ।