माडी, चितवन । माडी नगरपालिका वडा नं. ७ वडा कार्यालयको भवन शिलान्यास भएको छ । भवन निर्माण स्थल रहेको साविक आधारभूत विद्यालयको भवन परिसर (चौर)मा निर्माण हुनेगरी माडी नगरप्रमुख ताराकुमारी काजी महतोले वडा कार्यालय भवनको निर्माण शिलान्यास गर्नुभएको हो ।
शिलान्यस कार्यक्रममा वडाध्यक्ष चन्द्रकुमारी बानियाँ, छिमेकी वडाध्यक्ष दीपेन्द्रराज पौडेल, कार्यपालिका सदस्य सीता सुवेदीद्वय कमल बहादुर भुजेल, जिल्ला समन्वय समिति चितवनका सदस्य बाबुराम सुवेदी, वडा सदस्य गीता देवी वि.क. लगायत कर्मचारी र स्थानीय वडावासीको उपस्थिति रहेको थियो ।
वैदिक विधिअनुसार पूजापाठ र प्रसाद वितरण सहित शिलान्यस भएको सो भवन माडी बसन्तपुरस्थित आर.एन. सफल कन्स्ट्रक्सनले निर्माण गर्दैछ । वडा कार्यालयको भवन निर्माणका लागि गत असोज २ गते करसहित १ करोड २६ लाख ३२ हजार ३५९ रुपैंयाको बोलपत्र प्रकाशन भएको थियो । हालसम्म सो वडा साविकको पुरानो विद्यालय भवनबाट सञ्चालनमा रहेको छ ।