माडी, चितवन । माडी क्षेत्रका उद्योगहरुबाट उत्पादन हुने अर्गानिक वस्तु एवं अन्य बस्तुहरुको बजारिकणका लागि स्थापित कोशेली घरको औपचारिक समुद्घाटन भएको छ ।
चितवन उद्योग संघ, माडी ईकाइ समितिको आयोजनामा शुक्रबार सम्पन्न एक औपचारिक संक्षिप्त कार्यक्रमबिच माडी नगरप्रमुख ताराकुमारी काजी महतोले रिबन काटी कोशेली घरको औपचारिक उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख महतोले कोशेली घर सञ्चालनबाट स्थानीय उद्यमी र उत्पादनहरुको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।
संघका माडी ईकाइ अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष ताराबहादुर कार्की, सञ्चार अधिकृत राजु भट्ट लगायत माडी ईकाइका पदाधिकारी, सदस्य र स्थानीय उद्यमीहरु सहभागी रहेका थिए ।
कार्यक्रमको समापनका अवसरमा बोल्दै अध्यक्ष नेपालीले आफ्ना उद्योगहरुमा केहि घण्टा समय छोट्याएर आफूहरुले कोशेली घरलाई समय दिएको बताउँदै सोको विकास, विस्तार र दीर्घकालीन सञ्चालनमा माडी नगरपालिका र चितवन उद्योग संघबाट सहयोगको अपेक्षा गर्नुभयो ।
कोशेली घरमा माडीका उद्योगीहरुबाट उत्पादित दुग्धजन्य उत्पादन, खाद्य सामग्री, झोला, कपडा, आइसक्रिम र अन्य सामग्रीहरु बिक्रीका निम्ति राखिएका छन् । माडी-६, बाँदरमुढे पार्क क्षेत्रमा रहेको सार्वजनिक जमीनमा हालै निर्माण सम्पन्न ५ कोठे भवनबाट कोशेली घर सञ्चालनमा आएको हो ।